वीरगन्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले श्रोत खुल्न नसकेको २० लाख बढी रकमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंका ५० वर्षीय विनयशंकर साह तुराहा रहेका छन् ।

भारतको रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको बीआर ०५ बीके ८६०३ नम्बरको मोटरसाइकलमा सवार तुराहालाई सशस्त्र प्रहरीले वीरगन्ज भन्सार कार्यालय अगाडि रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त मोटरसाइकलको सिटकभर मुनि लुकाएर राखिएको अवस्थामा नेपाली २० लाख २ हजार ५० रुपैयाँ र भारु ६ सय रुपैयाँ बरामद भएको हो ।

बरामद भएको उक्त रकमको तुराहाले श्रोत खेलाउन नसकेपछि रकम र मोटरसाइकलसहित तुराहालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए ।

अवैध रकम र मोटरसाइकलसहित पक्राउ परेका तुराहालाई आवश्यक कारबाहीका लागि शुक्रबार नै वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको निरौलाले बताए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *