पूर्व–पश्चिम राजमार्गको अमलेखगञ्ज सडकखण्डमा अतिक्रमणमा परेको सडक, वन र निकुञ्जको जग्गा खाली गर्ने कार्य सुरु भएको छ। शुक्रबार बिहान ७ बजेदेखि नै राजमार्गको ३ नम्बर पुल क्षेत्रमा रहेका ३५ वटा घरधुरी र लामो समयदेखि बन्द रहेको सामुदायिक विद्यालयको संरचना भत्काउन थालिएको हो। डिभिजन वन कार्यालय बाराको नेतृत्वमा सुरु भएको यस कार्यका लागि सो क्षेत्रमा ठुलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन रक्षक तथा पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीहरू परिचालन गरिएका छन्। अतिक्रमण खाली गर्ने क्रममा स्थानीय र प्रशासनबिच सामान्य झडपको अवस्था सिर्जना भएको थियो। यद्यपि, अहिले अवस्था सामान्य रहेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत वीरेन्द्र यादवले जानकारी दिएका छन्। राजमार्गको ३ नम्बर पुल छेउमा अतिक्रमण गरी बस्नेहरूमा अधिकांश मकवानपुरका स्थायी बासिन्दा रहेका थिए, जसले सो क्षेत्रमा होटल व्यवसाय सञ्चालन गर्दै आएका थिए। डिभिजन सडक कार्यालयले सडक क्षेत्रको दायाँबायाँ २५र२५ मिटर खाली गराएपछि वन कार्यालय र पर्सा राष्ट्रिय निकुञ्जले पनि आफ्नो स्वामित्वमा रहेको क्षेत्र खाली गराउने प्रक्रिया अघि बढाएका हुन्। सुरक्षाकर्मी र कर्मचारीहरूको बाक्लो उपस्थितिमा सडक किनारका अवैध संरचनाहरू हटाउने काम जारी रहेको छ। Post navigation धनुषामा कार्यरत वरिष्ठ सई सागरसमशेर राणा निलम्बित वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईँमाथि कुन कसुर लगाउने भन्नेमा प्रहरी अन्योलमा