नेपाल–भारत सीमा क्षेत्रमा प्रहरीले सक्रियता देखाउँदा सम्भावित मानव बेचबिखनको ठूलो जोखिम टरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शनिबार मुख्य भन्सार क्षेत्रबाट भारततर्फ लैजान लागिएका तीन नेपाली बालिकाको सकुशल उद्धार गरिएको हो। सीमा क्षेत्रमा नियमित चेकिङका क्रममा प्रहरीलाई बालिकाहरूको गतिविधि शङ्कास्पद लागेपछि सोधपुछ गरिएको थियो। अनुसन्धानका क्रममा उनीहरूलाई विभिन्न प्रलोभनमा पारेर सीमापार गराउन लागिएको खुलेपछि प्रहरीले तत्काल संरक्षणमा लिएको जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा एक युवकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। अनुसन्धान प्रभावित हुन सक्ने भन्दै पक्राउ परेका व्यक्तिको परिचय हाल गोप्य राखिएको प्रहरीले जनाएको छ। उद्धार गरिएका बालिकाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरूलाई आवश्यक परामर्शसहित सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ। साथै, घटनामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको छ। Post navigation ‘डाबर हनी’ गुणस्तरहीन प्रमाणित, बिक्री-वितरणमा रोक !