जनकपुरधाम: जनकपुरधाममा पत्रकारहरूमाथि भएको सांघातिक आक्रमणको घटनालाई लिएर राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान थालेको छ। आयोगको मधेश प्रदेश कार्यालयले घटनाको सत्यतथ्य बुझ्न नेपाल पत्रकार महासंघको कार्यालयमा पुगेर विस्तृत जानकारी लिएको हो। गत साउन २७ गते जनकपुरधामको वडा नम्बर ४ मा रहेको स्वर्गद्वारी नजिकको गुठीको जग्गासम्बन्धी एक पत्रकार सम्मेलनपछि केही अधिवक्ताहरूको समूहले पत्रकारमाथि आक्रमण गरेका थिए। सोही घटनाका पीडित र सरोकारवालासँग भेटघाट गर्न आयोगको टोली सक्रिय भएको हो। मानव अधिकार आयोग, मधेश प्रदेशका मानव अधिकार अधिकृत किरण घिमिरे र राहुल कुमार ठाकुर तथा सूचना तथा प्रविधि शाखाका कर्मचारी ऋषिकुमार झासहितको टोलीले महासंघका पदाधिकारीहरूसँग घटनाबारे जानकारी लिएको छ। यस आक्रमणमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र महतो क्रान्तिको खुट्टा भाँचिएको छ भने पत्रकार अनिल कुमार निरालाको आँखा र पत्रकार दिवाकर रायको टाउकोमा गम्भीर चोट लागेको जानकारी महासंघले आयोगलाई गराएको छ। त्यसैगरी, महिला पत्रकार ज्योति झा (उपाध्यक्ष, मधेश प्रदेश) र विनीता यादवमाथि आपत्तिजनक दुर्व्यवहार भएको र लैङ्गिक संवेदनशीलतासमेतलाई ख्याल नगरी हातपात भएको जानकारी पनि आयोगलाई दिइएको छ। महासंघका पदाधिकारीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन र कानुनी राज्यको मर्यादा कायम गर्न आयोगसँग अनुरोध गरेका छन्। आयोगले अनुसन्धानपछि तत्काल प्रतिवेदन पेस गर्ने प्रतिबद्धता जनाएको छ। यो जानकारी लिने क्रममा महासंघका केन्द्रीय सदस्य राजेश कुमार कर्ण, मधेश प्रदेशका अध्यक्ष श्याम प्रसाद बन्जारा, सचिव हदिस खुददार र धनुषा शाखाका अध्यक्ष पुरण गुप्तालगायतका पत्रकारहरूको सहभागिता रहेको थियो। यसैबीच, मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादवसहितको टोली पनि घटनाको जानकारी लिन महासंघको कार्यालयमा पुगेको थियो। यसअघि यादवसहित आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गा र इन्सेक मधेश प्रदेशका प्रमुख राजु पासवानको टोलीले जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा गएर घाइते पत्रकारहरूसँग भेटघाट गरी आवश्यक जानकारी लिएका थिए। Post navigation Hello world! पत्रकारमाथि कानुन व्यवसायीको आक्रमण प्रकरणमा महासंघको केन्द्रीय छानबिन मिशन टोली जनकपुरधाममा