वीरगञ्ज महानगरपालिकामा एक ११ वर्षीया बालिकामाथि यौनजन्य हिंसाको प्रयास गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज–८ दुर्गा रोडमा किराना तथा मासु पसल सञ्चालन गर्ने ५० वर्षीय इस्माइल मियालाई प्रहरीले पक्राउ गरेको हो ।

पीडित बालिकाका परिवारका अनुसार शुक्रबार बिहान करिब ११ बजेतिर ती बालिका पसलको पुरानो बाँकी रकम तिर्न गएकी थिइन् । सोही मौका छोपी मियाले बालिकालाई पसलभित्र लगी मोबाइलमा अश्लील भिडियो देखाउँदै अनैतिक कार्यको प्रयास गरेका थिए । नातिनी उमेरकी अबोध बालिकामाथि मियाले गरेको यो हर्कतले स्थानीय बासिन्दालाई स्तब्ध बनाएको छ ।

आफूमाथि जबरजस्ती गर्न खोजेपछि बालिकाले साहस प्रदर्शन गरेकी थिइन् । उनले अभियुक्त मियाको हातमा दाँतले जोडले टोकेर उसको चंगुलबाट उम्कन सफल भइन् । अपराधीको पञ्जाबाट फुत्किएर घर पुगेकी बालिकाले रुँदै परिवारलाई घटनाबारे जानकारी गराएपछि घटना बाहिर आएको हो ।

घटनापछि आक्रोशित आफन्त र स्थानीय बासिन्दा पसल पुग्दा मिया पसल बन्द गरी फरार भइसकेका थिए । पीडित परिवारले वडा प्रहरी कार्यालय विर्तामा लिखित निवेदन दिएलगत्तै प्रहरीले खोजी कार्य तीव्र पारेको थियो । लुकिछिपी बसेको अवस्थामा मियालाई वीरगञ्जको छपकैयाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेका मियामाथि जबरजस्ती करणी उद्योग वा यौनजन्य दुर्व्यवहारको मुद्दा अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *