जनकपुरमा पत्रकारमाथि भएको आक्रमणप्रति आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघ, मधेश प्रदेश समितिले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।

साउन २७ गते जनकपुरमा आयोजना भएको पत्रकार सम्मेलनका क्रममा नेपाल बार एसोसिएसनका केही अधिवक्ताहरूको समूहले पत्रकारमाथि आक्रमण गरेको आरोप लगाउँदै महासंघले दोषीहरूलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न माग गरेको हो।

महासंघका अध्यक्ष श्याम बन्जारा र धनुषा शाखाका अध्यक्ष पुरन साहको हस्ताक्षर रहेको ज्ञापनपत्रमा यो घटना प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर आघात भएको उल्लेख छ।

महासंघका अनुसार, श्रीराम गुठीको स्वामित्वमा रहेको चार कठ्ठा जग्गा २० वर्षका लागि लिजमा लिएर भवन निर्माणको तयारी भइरहेका बेला अधिवक्ताहरूको समूहले उक्त जमिन कब्जा गर्न खोज्दै हुलदंगा मच्चाएको र त्यही क्रममा पत्रकारमाथि आक्रमण गरिएको हो।

आक्रमणमा महासंघका अध्यक्ष बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो, सञ्चारकर्मी दिवाकर राय, अनिलकुमार निराला र बिनिता यादव घाइते भएका छन्। घाइतेमध्ये दिवाकर रायको अवस्था गम्भीर छ भने महासचिव महतोको खुट्टा दुई स्थानमा भाँचिएको छ। साथै, पत्रकार महिलामाथि अभद्र व्यवहार र आपत्तिजनक शब्द प्रयोग गरिएको आरोप पनि लगाइएको छ।

घटनापछि तत्काल उजुरी दिए पनि अहिलेसम्म कुनै दोषी पक्राउ नपरेको भन्दै महासंघले प्रहरीको भूमिकामाथि प्रश्न उठाएको छ। अनुसन्धानमा देखिएको उदासीनताले कानूनी शासनको मर्यादामाथि गम्भीर प्रश्न खडा भएको महासंघको भनाइ छ।

महासंघले सरकारलाई प्रेस स्वतन्त्रताको रक्षा गर्न प्रभावकारी कदम चाल्न र घटनामा संलग्न सबैलाई निष्पक्ष छानबिनपछि कडा कारबाही गर्न आग्रह गरेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *