वीरगंजलाई सुरक्षित बनाउन सि.सि. क्यामेरा सञ्जाल विस्तारको अभियान

वीरगंज महानगर क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन सि.सि.टिभी क्यामेरा संजाल विस्तार गरिने भएको छ । सि.सि.टिभी क्यामेरा संजाल विस्तारका लागि महानगरपालिकाको पहलमा विभिन्न बैंकहरुले सोमबार १७ लाख ७५ हजार रुपैयाँ उपलब्ध गराएका छन् । महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सुरक्षित वीरगंज बनाउने अभियानमा सहकार्य गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई गर्नु भएको आह्वान अनुरुप बैंकहरुले उक्त सहयोग उपलब्ध गराएका हुन् । बैंकर्स एसोसिएसन पर्साका संयोजक रोहिणी आचार्यको नेतृत्वमा यहाँ संचालित बैंकहरुलाई वीरगंज सुरक्षित बनाउने अभियानमा सिसि क्यामेरा विस्तारका लागि सहयोग उपलब्ध गराउन आग्रह गरिएको थियो ।  

महानगरपालिकाको पहल एवं सेफर वीरगंज र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा संकलित रकमबाट वीरगंजका विभिन्न स्थानमा थप नयाँ क्यामेरा जडान गरिने महानगर प्रमुख सिंहले जानकारी दिनुभयो । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले अपराध नियन्त्रणमा सिसि क्यामेराको उल्लेखनीय सहयोग रहने भएकाले महानगरका हरेक चोक तथा सडकमा संजाल विस्तार गर्नु आवश्यक रहेको बताउनुभयो । क्यामेरा संजाल विस्तारका लागि सहयोग उपलब्ध गराउने बैंकहरु धन्यवादको पात्र रहेको भन्दै यो कार्यमा सबै सरोकारवालाहरुको सहयोग आवश्यक रहेको बताउनुभयो ।  

सिसि क्यामेरा संजाल विस्तारका लागि विभिन्न १६ वटा बैंकले सहयोग उपलब्ध गराएको र बाँकी बैंकहरुबाट पनि चाँडै सहयोग उपलब्ध हुने बैंकर्स एसोसिएसन पर्साका संयोजक रोहिणी आचार्यले जानकारी दिनुभयो । सबैभन्दा बढी नबिल बैंकले ३ लाख रुपैयाँ सहयोग गरेको उपलब्ध गराएको छ । सोमबार एक कार्यक्रमकाबीच बैंकहरुले उपलब्ध गराएको सहयोग महानगर प्रमुखको रोहबरमा सेफर वीरगंजलाई हस्तान्तरण गरिएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *