पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य सुशील कुमार कानुले घरेलु हिंसामा गम्भीर घाइते भएकी हरिकला देवी सहनीसँग भेटघाट गरेका छन्।

बाराको परवानीपुर गाउँपालिकास्थित एलएस न्युरो अस्पतालमा उपचाररत सहनीलाई बिहीबार भेट्दै उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। साथै पीडितमाथि जघन्य आक्रमण गर्ने उनका श्रीमान् विश्वनाथ सहनीलाई यथाशीघ्र पक्राउ गरी कडा कारबाही गर्न प्रहरी प्रशासनसँग आग्रह गरेका छन्।

भेटका क्रममा सांसद कानुले उपचारमा कुनै कमी हुन नदिने आश्वासन दिँदै सम्पूर्ण खर्च आफूले व्यहोर्ने प्रतिबद्धता जनाए। उनले काठमाडौँमा रहेको बेला पनि पीडितको अवस्थाबारे निरन्तर जानकारी लिइरहेको बताए।

कानुले पर्सा प्रहरी प्रमुख एसपी सुदीपराज पाठकसँग समेत घटनाबारे छलफल गर्दै दोषीलाई छिटो नियन्त्रणमा लिन आग्रह गरेका छन्। उनले यस्ता अमानवीय घटनामा कडा कानुनी कारबाही आवश्यक रहेको बताएका छन्।

महिला हिंसा नियन्त्रणका लागि नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले संसद्मा यो विषय उठाउने र पीडितका लागि राहतको व्यवस्था गर्न सरकारसँग माग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *