जनकपुरधाम :- नेपाल पत्रकार महासङ्घको केन्द्रीय मिसन टोली जनकपुर आइपुगेको छ। पत्रकारमाथि नेपाल बार एशोसिएसन जनकपुरका वकिलहरूको एक समूहद्वारा भएको सांघातिक आक्रमण सम्बन्धी जानकारी लिन तथा वर्तमान अवस्थाबारे आवश्यक तथ्य संकलन गर्ने उद्देश्यले सो टोली जनकपुर आएको हो। महासङ्घको केन्द्रीय समितिका लेखा संयोजक केसी लामिछानेको संयोजकत्वमा गठित टोलीमा केन्द्रीय सदस्य राजेश कुमार कर्ण र केन्द्रीय सदस्य राजु विश्वकर्मा रहेका छन्। टोलीले घटनाबारे दुवै पक्षका सम्बन्धित व्यक्तिहरूसँग कुराकानी गर्नुका साथै स्थानीय प्रशासन, प्रादेशिक अस्पतालका चिकित्सक र अन्य सरोकारवालाहरूसँग पनि छलफल गर्नेछ। छलफल पश्चात पत्रकार महासङ्घले कानुनी उपचार तथा अन्य वैकल्पिक उपायहरूको बारेमा आवश्यक निर्णय लिने बुझिएको छ। घटना गुठी संस्थान केन्द्रीय कार्यालयसँगको सम्झौताअनुसार महासङ्घले प्राप्त गरेको जग्गासँग सम्बन्धित विवादबाट सुरु भएको हो। नेपाल बार एशोसिएसन जनकपुरले सो जग्गा पार्किङका रूपमा प्रयोग गर्दै आएको र सम्झौता खारेजीका लागि अदालतमा अन्तरिम आदेश माग गर्दै मुद्दा दर्ता गराएको थियो। त्यही जग्गामा पत्रकार सम्मेलन गरेपछि आफ्नो स्वामित्वको दाबी गर्दै तारले घेरा हाल्न लाग्दा वकिलहरूको ठूलो समूहले पत्रकारहरूलाई घेरेर कुटपिट गरेको बताइएको छ। उक्त घटनामा परी ६ जनाभन्दा बढी पत्रकार घाइते भएका छन्। Post navigation जनकपुरमा पत्रकारमाथि वकिलहरुको आक्रमणप्रति मानव अधिकार आयोगद्वारा छानबिन सुरु जनकपुरमा पत्रकारमाथि आक्रमणको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र